विकास! विकास! नाश हुने विकास??

थोमस कफमन

आफ्नो देशको विकास, आफ्नो गाउँघरको विकास, हामी सबैको विकास हुनुपर्छ भनेर विचार राख्‍ने मानिसहरू धेरै हुन्छन्। किसानहरूले विकासी मल चलाउँछन्, बजारमा विकासी आलु र मकै पाइन्छ। सरकारले अनेक थरी विकासमुखी योजनाहरू बनाउँछ, बैङ्कले यसैको लागि ऋण दिन्छ। सबैको इच्छा यही हो: हामी बढ्नुपर्छ, हामीले उन्नति गर्नुपर्छ, हामी माथि पुग्नुपर्छ। कतिले अन्य देशको विकसित अवस्था देख्‍छन् र उनीहरू त्यही स्तरमा पुग्न चाहन्छन्। आफ्नो विकासलाई नै पहिलो लक्ष्य बनाएर तिनीहरू त्यसतर्फ पाइला चाल्दैछन्। यसको विरोध हामी यहाँ गर्दैनौं, तर यसो गर्दा के-कस्ता खतरादेखि हामी जोगिनुपर्छ, सो देखाउन चाहन्छौं।

ठूलो नै राम्रो भन्दै किनमेल गर्न जाँदा हामीमध्ये धेरैले धोका खाएका छौं। तिनीहरूले ठूला-ठूला, राम्रा-राम्रा आलु किने, तर ती भित्रपट्टि खोक्रा थिए, स्वादिलो थिएनन्, अनि ती छिट्टै कुहिएर गए। बाहिरपट्टि हेर्दा कति कुरा सुन्दर देखा पर्छन्, तर तिनको भित्री गुण राम्रो नभएको तथ्य कसले अनुभवबाट थाहा पाएको छैन र? तब विकास, विकास भन्दा हामी होशियार हुनुपर्दैन र? के विकासको नाममा आएका सबै कुरा असल हुन्छन् र? के तिनलाई जाँचेर हेर्नुपर्दैन र?

हामी यहाँ तपाईंलाई इतिहासबाट केही उदाहरण दिन्छौं, जसबाट तपाईंलाई राम्रो ज्ञान मिल्नेछ भन्ने हामीलाई विश्वास छ। किनभने हाम्रै आँखाको सामु हामीलाई सचेत गराउने प्रमाणहरू हामीले घरीघरी पाएका छौं। के तपाईं हामीसँग यिनलाई एकपटक नियालेर हेर्न तयार हुनुहुन्छ?

आउनुहोस्, अहिले म तपाईंलाई मध्य र दक्षिण अमेरिकामा लैजान चाहन्छु र तपाईंलाई एउटा विशेष कुरा देखाउन चाहन्छु। यहाँ घनघोर जङ्गल र अग्ला-अग्ला पहाडहरूमाथि माया (Mayas) र इन्का (Incas) नाम गरेका जातिका अति प्रख्यात प्राचीन भग्नावशेषहरू भेटिन्छन्। जब इस्वी संवतको सोह्रौं शताब्दीमा यूरोपबाट सामुद्री यात्रा गर्दै भारत जान चाहने मानिसहरू पहिलो पटक दक्षिण अमेरिकामा आइपुगेका थिए, तब तिनीहरूले माया जातिका मानिस विकसित भइसकेका र सभ्यतामा आफूभन्दा ज्यादै प्रगति गरिसकेका अवस्थामा भेट्टाए। इतिहासकारहरू भन्छन्, इन्का जातिका मानिसहरू यतिसम्म विकसित थिए कि उनीहरूको हिसाब निकाल्ने तरिका वर्तमान कम्प्यूटरको तरिकासित तुलना गर्न सकिन्छ। उनीहरूले आफ्ना घर र शहरहरू यस्तो अचम्म प्रकारले बनाउँथे कि पर्खालका ढुङ्गाका बीच कुनै सिमेन्ट-मसला नलगाई ती जोडिएका हुन्थे। जोडिएका ढुङ्गाका बीच कुनै छुराको धार समेत पसाल्न नसकिने हुन्थ्यो। पेरू देशको माचुपिछु (Machu Pichhu) भन्ने ठाउँमा यस्तो अद्‍भुत रीतिले निर्माण गरिएको शहर आजसम्म देख्‍न सकिन्छ।

तर दुःखको कुरा, कालान्तरमा इन्का र माया जातिका मानिस पराजित भए। स्पेनका मानिसहरूले उनीहरूलाई सजिलैसँग जित्‍न सके। इतिहासकारहरूले यसको कारण खोजेर के पत्ता लगाए भने माया र इन्का जातिका शत्रु उनीहरूभन्दा ज्यादा शक्तिशाली भएका हुनाले उनीहरू पराजित भएका थिएनन्। बरु माया तथा इन्का जातिको समाज भित्र-भित्र नै नैतिक दृष्टिमा बिग्रेका कारणले उनीहरू पतन भएका थिए। उनीहरू अभिलाषी जीवन बिताउँथे र यसैले नष्ट भए।

माया र इन्का जातिको पतन इतिहासमा केवल एउटा उदाहरण हो। हामी बेबिलोनी, यूनानी र रोमी साम्राज्यहरूको उत्थान र पतनको विषयमा पढ्ने हो भने उही अचम्मको कुरा पत्ता लाग्छ कि यी जम्मै शक्तिशाली र विकसित साम्राज्यहरू त्यसरी नै पराजित भई नाश भए। जब उनीहरूले उन्नति गरे तब उनीहरू चाँडै नाश पनि भए। यस्तो किन होला? किनकि जति उनीहरू सफल बन्दै गए त्यति नै उनीहरू अभिलाषी पनि बने।

यसकारण नाश हुन लागेको अवस्थामा पुगेका राष्ट्रहरूको विषयमा हामी यहाँ यति भन्न सक्छौं कि जब ती राष्ट्रका बासिन्दाले उन्नति गरे, तब तिनमा कैयन् डरलाग्दा गुण पनि देखा परे। उनीहरू परिश्रम गर्न छाडे, उनीहरू अल्छी बन्न थाले, उनीहरू ईश्वरको डर मान्न छाडे। उनीहरू मनोरञ्जनका लागि जिउन थाले। उनीहरू पाप गर्नदेखि डराउन छाडे, बरु धनले भ्याएसम्मको हरेक पापको अभिलाषा पूरा गर्नतिर लागे। तब अश्लील भई उनीहरूले व्यभिचार गर्ने प्रशस्त उपायहरू रचे। पछि शोषण, अत्याचार, हत्या, अशान्ति, कोलाहल र क्रान्तिहरूले उनीहरूलाई बराबर सताइरह्यो। तिनका दृष्टिमा मान्छेको ज्यानको कुनै मूल्य नै रहेन। अन्तमा उनीहरूले तान्त्रिक शक्ति र गोप्‍य विद्यामा साहारा लिएका हुनाले उनीहरू झनै परमेश्वरको क्रोधका पात्र बन्न पुगे।

पापले गर्दा आफूमाथि दण्डको आज्ञा ल्याएर उनीहरू नष्ट भए। धर्म-सुधारमा प्रख्यात मानिएका मार्टिन लुथरले परमेश्वरको वचन पवित्र बाइबलबाट पूर्वज्ञान पाई यसो भनेका थिए: "पापले नै मानिसहरूलाई सर्वनाश गर्छ।" तर पश्चिमी राष्ट्रहरूमा कसले यस कुरामा ध्यान दिएको छ र? कसैल पनि वास्ता गरेको छैन जस्तो लाग्छ हामीलाई। किनभने पश्चिमी मुलुकहरूमा हामी माथि उल्लेख भएका सबै विनाशकारी पापका लक्षणहरू पूरा हुँदै आएका देखिन्छन्। तब के हामी बेहोशी भई उनीहरूबाट पाप गर्न सिक्ने? र उनीहरूजस्तै नाश हुने? जब हामी उन्नति गर्दै अघि बढ्छौं र माथि पुग्न खोज्छौं तब कसरी हामी परमेश्वरको वचन सुनेर ज्ञान बढाउन सक्छौं त? किनभने बाइबलमा यसरी लेखिएको छ:

"हेर,यिनीहरूचाहिँ भक्तिहीनहरू हुन्, जसले यस युगमा उन्नति गर्छन्; तिनीहरू धनसम्पत्ति बढाउँछन्" (हितोपदेश ७३:१२)।

दुष्ट, अधर्मी मानिसहरूले यस संसारमा उन्नति गर्छन् र आफ्नो धनसम्पत्ति बढाउँछन् भन्ने कुरामा हामी छक्क पर्नुपर्दैन। तर छल गरेर वा ठगेर पाएको धनले लाभ हुँदैन। यसो गरी उन्नति गर्ने मानिस चाँडै परमेश्वको न्यायमा पर्नेछ।

"निश्चय नै दुष्ट दण्ड नपाई छोडिनेछैन" (हितोपदेश ११:२१)।

किनभने यो कुरा निश्चित छ: दुष्ट मानिसको उन्नति एकक्षणको लागि मात्र हो। त्यसको न्यायको घडी आउँदैछ। त्यसलाई दण्ड नदिई परमेश्वरले त्यसलाई छोड्नुहुन्न। किनभने सत्य परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ। उहाँले हरेक मानिसलाई आफ्ना कामअनुसार प्रतिफल दिनुहुन्छ।

"जसले आफ्नो ढोका अग्लो पार्छ, त्यसले विनाश खोज्छ" (हितोपदेश १७:१९)।

यसकारण हामीलाई आफ्नो विषयमा होशियार हुनु खाँचो छ, नत्र त हामीले आफ्नो उन्नति र विकास खोज्दा-खोज्दै आफूमाथि परमेश्वरको दण्ड ल्याउनेछौं। त्यसमा हामीलाई कुनै लाभ छैन। जीवित परमेश्वरको हातमा पर्नु ज्यादै डरलाग्दो कुरा हो।

"सूर्यमुनि एउटा अर्को कुरा मैले देखेको छु: दौड, चाँडो दगुर्नेको निम्ति होइन, अथवा, युद्ध बलियाका निम्ति; नता बुद्धिमानले भोजन पाउँछ, नता प्रतिभाशालीले धनसम्पत्ति; वा ज्ञानी पुरुषले कृपा-दृष्टि पाउँछन्, तर ती सबैजनामाथि समय र संयोग आइपर्छ। किनभने मानिसले आफ्नो समय जान्दैन। माछा निर्दयी जालमा परेझैं, अथवा चराचुरूङ्गीहरू जालमा फसेझैं मानिसहरू दुर्दशामा पासोमा पर्दछन्, ती दुर्दशा नचिताएका बेलामा आइलाग्दछन्" (उपदेशक ९:११-१२)।

हामीले आफूलाई अरूभन्दा छिटो, बलियो, बुद्धिमानी र प्रतिभाशाली ठाने तापनि त्यसरी हाम्रो उन्नति हुने होइन, बरु अचानक पासोझैं दुर्दशा हामीमाथि आइपर्न सक्छ।

"हाय! हाय! मिहिन मलमल, बैजनी र सिन्दुरे कपडा पहिरेको, अनि सुन, रत्‍नहरू र मोतीहरूले सिँगारिएको यो महान् शहर! किनकि एकै घण्टामा यति धेरै धनसम्पत्ति उजाड भयो" (प्रकाश १८:१६- १७)।

एकै घण्टामा हाम्रो फलिफाप अवस्था अर्कै अवस्थामा परिणत हुन सक्छ, र कहीँ हामीले आफूलाई अफसोस र शोकित अवस्थामा भेट्टाउनुपर्ला कि?

"हेर, देश-देशका मानिसहरूले आगोको निम्ति मात्र परिश्रम गर्छन् र जातिजातिका मानिसहरूले व्यर्थैमा आफूलाई थकित तुल्याउँछन्; के यो सेनाहरूका परमप्रभुबाट होइन र?" (हबकूक २:१३)

उन्नति गर्न खोज्दा-खोज्दै हामीले आगोको निम्ति मात्र अर्थात् विनाशको लागि व्यर्थैमा परिश्रम गरेका छौं कि भन्ने खतरा छ। यसकारण हामीले पवित्र बाइबलका यी वचनहरूबाट चेताउनी लिनुपर्छ र आफ्नो जीवनलाई नियालेर हेर्नुपर्छ। सायद हाम्रो विकास नाश हुने विकास मात्र हो कि?

"परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ" (भजनसङ्ग्रह १२७:१)।

तपाईंको घर-परिवारको उन्नति गर्न खोज्दा तपाईंले यो एउटा कुरा याद गर्नुपर्छ: हाम्रा सृष्टिकर्ता परमेश्वरको आशिषविना हाम्रो परिश्रम व्यर्थै छ। आफ्नो गाउँ र आफ्नो राष्ट्रलाई बिग्रिनदेखि जोगाउन खोज्दा हामीलाई परमप्रभुको सहायता र सुरक्षाको नित्तान्त खाँचो पर्छ। के तपाईंले यस महत्त्वपूर्ण कुरामा ध्यान लगाउनुभएको छ?

"परमप्रभु भन्नुहुन्छ: 'ज्ञानी मानिसले आफ्नो ज्ञानमा घमन्ड नगरोस्, बलियो मानिसले आफ्नो बलमा घमन्ड नगरोस्, र धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्, तर जसले घमन्ड गर्छ, त्यसले यस विषयमा घमन्ड गरोस्: 'म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनै कुरामा म प्रसन्न हुन्छु,' परमप्रभु भन्नुहुन्छ'" (यर्मिया ९:२३-२४)।

यसकारण तपाईंलाई हाम्रो सन्देश यही हो: आफ्नो ज्ञानमा, आफ्नो बलमा, आफ्नो धनमा घमन्ड नगर्नुहोस्। बरु तपाईंले एकमात्र सत्य र जिउँदो परमेश्वरलाई चिन्ने विषयमा घमन्ड गर्न सक्नुपर्छ। के उहाँको विषयमा तपाईंसित पक्का ज्ञान छ? के तपाईं उहाँको अपार प्रेम र दयाको भागीदार बन्नुभएको छ? के तपाईं उहाँको डर मान्नुहुन्छ? के तपाईंको जीवन उहाँको सामु ग्रहणयोग्य छ? के तपाईंले परमेश्वरलाई खुशी पार्न जान्नुभएको छ? तपाईंको साँचो उन्नति यिनै कुरामा भर पर्छ।

"समय पूरा भएको छ, र परमेश्वरको राज्य नजिकै आएको छ, पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर" (मर्कूस १:१५)।

अब समय धेरै छैन, चाँडै हामी सबैजनाले परमेश्वरका सामु आ-आफ्नो जीवनको लेखा दिनुपर्नेछ। यसकारण प्रभु येशूको शुभ-सन्देशलाई कान थापेर सुन्नुहोस् भन्दै हामी तपाईंलाई प्रेमपूर्वक आग्रह गर्दछौं। परमेश्वरको सामु तपाईंको जीवन कसरी ग्रहणयोग्य हुन सक्छ, सो उहाँले तपाईंलाई प्रस्टै बताउनुहुन्छ। आफ्ना सबै पाप र अधर्महरूको बारेमा पछुताउनुहोस् र सम्पूर्ण मन साँचो परमेश्वरतिर फर्काउनुहोस्, उहाँको सामु आफ्ना पाप मानिलिनुहोस्। आफ्नो पापको बारेमा कायल भएको, पश्चात्तापी मानिसलाई परमेश्वरले इन्कार गर्नुहुन्न। यसैले उहाँका सामु आफैंलाई नम्र पार्नुहोस्।

"किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो - उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्" (यूहन्ना ३:१६)।

प्रभु येशूको नाममा पापको क्षमा छ। उहाँमाथि भरोसा राख्‍ने कोही पनि शर्ममा पर्नेछैन। परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुहुन्छ, यसैले उहाँले आफ्नो एकमात्र पुत्र, अर्थात् प्रभु येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो। क्रूसमा मर्नुभई प्रभु येशूले हाम्रो सट्टामा पापको सजाय भोग्नुभयो। हामी सबका पापहरूका निम्ति उहाँले आफ्नो बहुमूल्य रगत बहाउनुभयो। यसरी उहाँ तपाईं र मेरो निम्ति निर्दोष र निष्कलङ्क पापबलि हुनुभयो। परमेश्वरको वचनले के भन्दछ भने उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुनेछैन, तर उसले अनन्त जीवन पाउँछ। यसकारण प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईंको जीवनको जग बनाउनुहोस्। तब तपाईंले साँचो गरी उन्नति गर्नुहुनेछ।

"सारा संसार प्राप्‍त गरे तापनि मानिसले आफ्नो आत्माचाहिँ गुमायो भने त्यसलाई के फाइदा भयो?" (मत्ती १६:२६)

संसारका थोकको पछि लागेर तपाईं किन आफ्नो अमूल्य आत्मा गुमाउनुहुन्छ? यसमा तपाईंलाई कुनै लाभ छैन। प्रभु येशू जिउँदो प्रभु हुनुहुन्छ। मारिनुभएको तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुभयो र चालीस दिनसम्म आफ्ना चेलाहरूकहाँ देखा पर्नुभयो। धेरै अचूक प्रमाणहरू दिएर प्रभु येशूले आफूलाई जीवित देखाउनुभयो, त्यसपछि उहाँ स्वर्ग चढी परमेश्वरको दाहिने हातपट्टि सिंहासनमा बस्नुभयो। विश्वास गर्दै उहाँकहाँ शरण लिन आउने हरेकको निम्ति उहाँ दयालु प्रभु र मुक्तिदाता हुनुहुन्छ। यसकारण येशूको नाम पुकार्नुहोस् र तपाईंको जीवन उहाँको हातमा सुम्पनुहोस्। प्रभु येशूको सत्य वचन आफ्नो हृदयमा राखेर उहाँलाई पछ्याउनुहोस्। तब तपाईंको भविष्य उज्यालो बन्नेछ।

* * * * *

यो लेख पर्चामा छापिँदै आएको केही वर्ष भइसक्यो। यसका लेखक दाजु थोमस कफमनको अनुमतिले यसलाई यस वेबसाइटमा उपलब्ध गरिएको छ। माचुपिछुको तस्बीरचाहिँ विकिपिडिया (wikipedia server) मा भएको प्रतिलिपिसित लिङ्क गरिएको छ।