के मान्छे बाँदरबाट आएको हो?
विकासवादी सिद्धान्तको विरुद्धमा विज्ञान
आज "विज्ञान" को भेष धारण गरेकोले श्रद्धा पाएको, तर बास्तवमा अवैज्ञानिक रहेको, विकासवादी सिद्धान्त (Theory of Evolution) ले धेरैलाई भ्रममा पारेको छ। बाइबलमा उल्लेखित सृष्टिको विवरण सुन्दा उनीहरू आपत्ति जनाउँदै भन्छन्, "विज्ञानसँग आदम र हव्वाको कुरा मेल खाँदैन। विज्ञानअनुसार मानिसको उत्पत्ति एक-कोषीय जीवको क्रमिक विकासबाट भएको हो। विज्ञानअनुसार एक-कोषीय जीव सञ्जोगले उत्पन्न भएको हो", आदि इत्यादि।
विज्ञानअनुसार? उनीहरूको भनाइ बास्तवमा "विकासवादी सिद्धान्तअनुसार" मात्र हो, विज्ञानअनुसार होइन। निर्जीवबाट जीवको उत्पत्ति भएको एउटै प्रमाण छैन, त्यो परिकल्पनामै सीमित छ। बास्तवमा विकासवादी सिद्धान्त र विज्ञान आपसमा मिल्दैनन्।
जीव-शास्त्र (Biology) विज्ञानको एउटा नियमलाई जीवजनन्को नियम अथवा 'ल अफ बायोजेनेसिस्' (Law of Biogenesis1) भनिन्छ। यस नियमले दुइटा कुरा विश्वव्यापी रूपमा स्थापित भएको बताउँछ: (१) एउटा जीवको उत्पत्ति अर्को जीवबाट मात्र हुन सक्छ। (२) एक खाले जीवको उत्पत्ति त्यही खाले जीवबाट मात्र हुन सक्छ।
तर विकासवादी सिद्धान्तले -- बिनाप्रमाण -- यसको ठीक उल्टो दाबी गर्दछ (१) निर्जीव रसायनिक तत्त्वहरू मिल्न गई एक-कोषीय जीवको उत्पत्ति भएको दाबी। (२) उक्त एक-कोषीय जीव (एक खाले जीव) को क्रमिक विकासबाट पृथ्वीका सबै प्राणीहरू (अर्कै खाले जीवहरू) उत्पन्न भएका दाबी।
न रसायनिक तत्त्वबाट जीव उत्पन्न हुन सक्छ भन्ने प्रमाण भेटिएको छ, न एक खाले जीवबाट अर्को खाले जीवको उत्पत्ति भएको प्रमाण छ।
अझ, उन्नाइसौं शताब्दीमा सरल बनौटको भनी ठानिएका एक-कोषीय जीवहरू त बास्तवमा निकै जटिल बनौटका हुँदा रहेछन् भन्ने कुरा पछिबाट थाह हुन आएको छ।
"आधुनिक मान्छे आफू बुद्धिमान् छु भन्ने दाबी गर्दै वास्तवमा मूर्ख नै भएको कुराको उदाहरणका लागि सेप्टेम्बर १९७६ को नेशनल जिओग्राफिक पत्रिका (National Geographic) को "कोषभित्रका अचम्मका संसारहरू" ("Awesome Worlds Within a Cell") भन्ने लेख पढ्न सकिन्छ। पृष्ठ ३५८ मा लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको बयान गर्दछन्। वास्तवमा "सरल एक-कोषीय जीव" भन्ने त्यस्तो कुनै कुरो पाइँदैन! सबैभन्दा सरल कोष समेत एउटा "माइक्रो ब्रह्माण्ड" ("a micro-universe") पो रहेछ (पृष्ठ ३५८)। अनि पृष्ठ ३८८ मा हामी पढ्छौं, "…यो नै जीवशास्त्रको प्रमुख समस्या हो। यस्तो जटिलपन (complexity) कसरी हुन आयो?…जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो, आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन् अर्थात् यी सब कुराको सुरु कसरी भयो?" त्यसपछि पृष्ठ ३९० मा "विज्ञहरू" ले यसको जवाफ दिँदै पर्याप्त समय दिइयो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय सञ्जोगलाई दिन्छन्! समय, सन्जोग र विकासवादी सिद्धान्त भए सबै कुरा सम्भव हुन्छन् अरे!!! "तिनीहरू मूर्ख बने" -- रोमी १:२१-२२।" (जर्ज जेलर, रोमीको टिप्पणी)।
अप्रमाणित कुरो विज्ञान होइन। विज्ञान भनेको भौतिक विश्व-ब्रह्माण्ड सम्बन्धी प्रमाणित ज्ञान हो। विकासवादी सिद्धान्त भनेको भौतिक विश्व-बह्माण्डको उत्पत्ति सम्बन्धी एउटा अप्रमाणित परिकल्पना मात्र हो। उन्नाइसौं शताब्दीका चार्ल्स डारविन (Charles Darwin) द्वारा प्रतिपादित उक्त परिकल्पना वैज्ञानिक प्रणाली (Scientific Method2) द्वारा कहिल्यै प्रमाणित गरिएको छैन।
विज्ञानको मूल आधार अवलोकन हो। उत्पत्तिको प्रारम्भमा मान्छे थिएन, उसले अवलोकन गर्न सक्ने कुरै भएन। त्यसैले उत्पत्ति सम्बन्धी पक्का सत्य-तथ्य विज्ञानको पहुँचभन्दा बाहिर छ।
सृष्टिको प्रारम्भमा केवल अनादिदेखिको त्रिएक सृष्टिकर्ता परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँले मात्र हामीलाई सृष्टिको उत्पत्ति सम्बन्धी सत्य-तथ्य बताउन सक्नुहुन्छ। उहाँले बाइबलमा सो बताउनु भएको छ। बाइबलमा बताइएका कुरा विज्ञानसँग बेमेल छैनन्। किनकि दुवै बाइबल र विश्व-ब्रह्माण्ड सृष्टिकर्ताकै रचना हुन्।
हामीलाई प्रभु येशूको भनाइ पर्याप्त छ। बाइबलमा उल्लेखित सृष्टिको विवरण अक्षरशः सत्य भएको उहाँले जनाउनुभयो,
"के तिमीहरूले [बाइबलको उत्पत्तिको पुस्तकमा] पढेका छैनौ? [सृष्टिको] शुरुमा जसले तिनीहरूलाई नर र नारी [आदम र हव्वा] बनाउनुभयो..." (मत्ती १९:४)
- http://en.wikipedia.org/wiki/Biogenesis
- Henry Morris, Ph.D., The Scientific Case Against Evolution: A Summary Part 1, http://www.icr.org/article/457
